स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

सेयर गर्नुहोस

–भरत प्रधान

लिस्बन, ९ मङ्सिर  : विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ ।

चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो ।

पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गर्नुभयो ।

सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिनुभएको थियो । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ ।

खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए ।

गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ ।

जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पूग्ने गर्दछन् । यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो । यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दूर्लभ र बहूमूल्य मानिन्छ ।

खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिनुभयो । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताउनुभयो । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “विश्वमा यो च्याउको आफ्नै महत्व र मूल्य छ । यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायीक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो ।” यस्तो दूर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उहाँले बताउनुभयो । सर्वाधिक महंगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महशुस भएको सापकोटाले बताउनुभयो ।

मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो ।

यसलाई इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महंगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ ।

यसैबीच सापकोटा इटालीमा सम्मानित हुनुभएको छ । च्याउसम्बन्धी खानाको प्रचार प्रसारमा विशेष योगदान पू¥याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बेस्डरसमेत नियुक्त हुन सफल भएका छन् ।

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरि पाँच ठूला रेष्टुरा सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरामध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुरालाई पिज्जा बनाउने (अद्धितिय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ । सापकोटा बिगत २० वर्षदेखि पोर्चुगल बस्दै आउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -