स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

तराईवासीमा मात्र सीमित रहेको छठ पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै

सेयर गर्नुहोस

–हिमांशु चौधरी

जनकपुरधाम, २६ कात्तिक : आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ मौलिक पर्व हो ।

सन्तानप्राप्ति, निरोगीपन, सुख समृद्धि र चर्मरोगमुक्त हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयताका प्रतीकका रूपमा यो पर्व मनाइन्छ । संसारको आदि पर्वका रूपमा रहेको सूर्य पूजाको पर्व कुनै समय प्राचीन मिथिला भूभागभित्र मात्र प्रचलित रहेकामा कालान्तरमा यो पर्व देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।

संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलोका रूपमा पूजा गर्थे भने जापानी इजानागी र इजानामीलाई आदि पुरूष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरूष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् । मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

सूर्यलाई आदि देउता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए । स्वभावतः मानव सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम शुरु भयो । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको समिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देउ, वरदान देउ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ । यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । मिथिलाञ्चलमा भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कोही अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन् भने कोही आफैँ व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्य दान गर्नेसमेत भाकल गरिएका हुन्छन् ।

यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई÷दुईप्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुवानाच गराउने, बाजा बजाएर अघ्र्य दान गर्ने, भिख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ ।

साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जाने तथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् । अघ्र्यमा केराको हत्थाका साथै पकवान, मिष्ठान, फलफूल आदि राखिने गरिएको छ ।

बर्तालुले शरीर शुद्ध गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई ‘खरना’ भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खीर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्कन्छन् । अर्को दिन बिहानीपख उदाउँदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन्, यसलाई ‘पारन’ भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउँछन् ः

आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
आजुक दिनमा हे दीनानाथ कतय लागल बेर…..।

अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन ? गीतको लामो शृङ्खला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीको पीडा पनि अभिव्यक्त भएको हुन्छ ।

छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अघ्र्यका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुगालाई हकार्दै यसरी भनिएको छ ः

उजे केरबा फरल घओंद से
आइ पर सुगा मरडाए
उजे मारबौँ रे सुगबा धनुख से
सुगा गीरे मुरिछाए
उजे सुगनी जे रोअले वियोग से
आदित होख न सहाय…………..

अर्थात् केरालाई न छोउ है, जुठो नबनाउ । नत्र धनुषवाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन्, फेरि सूूर्यलाई नै गुहार्नेछिन्– हे सूर्य सहायता गर । पर्वका अवसरमा अघ्र्य दिन सामग्रीको भारी बोकेर भाइ घाटतिर जाँदै गर्दा कुनै बटुवाले “यो भार कहाँ जाँदै छ” भनी सोध्दा बर्तालु आक्रोशित हुँदाको मननयोग्य गीत ः

उजे कांच जे बाँसके बहंगिया
रेशम लागल डोर
भरिया होएताह फलाँ भैया
भार घाटे पहुँचाए
बाट जे पुछे बटोहिया
ई भार किनकर जाए
आन्हर होइहे रे बटोहिया
ई भार छठीमाइके जाय………

अर्थात् बर्तालु आक्रोशित हुँदै भन्छन, “तिमी अन्धो छौ, देख्दैनौ, यो छठीमाईको अघ्र्य दिन घाटतिर जाँदैछु ।” यसरी पर्वमा बर्तालु पूजाप्रतिको एकाग्रतामा कुनै अवरोध सहन सक्दैन । यता बाँझी महिलाले यो व्रत गर्न नसकेकामा दीनानाथ (सूर्य) सँग दुखेसो यसरी पोख्छे ः

गहबर निपिते हो दीनानाथ
तरहथिया गेल खिआए
धूपबो जे दैत हो दीनानाथ
चुटुकियो गेल कटाए
तैयो ने छुटल हो दीनानाथ
बझिंनिया परधान ………….. ।

अर्थात् तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दै थाकी सकेँ तर बाँझी पद मैले छुटाउन सकिनँ । यस पर्वमा जीव र जगत् एकाकार हुन जान्छन् । मानिस र प्रकृति दुवैको शक्ति मिलेर एउटा नयाँ शक्ति, ऊर्जा र ओजले यस पर्वमा नयाँ आकार ग्रहण गरिरहेको हुन्छ ।

प्रकृतिमा अजस्र शक्ति छ । सम्भवतः यो चमत्कार बर्तालुको कठोर तपस्या, शुद्धता र पवित्रताको कारणले पनि हुनुपर्छ । यो प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान, पति, परिवारजनलाई शुभशक्ति, शान्ति, सुमङ्गल हस्तान्तरण गर्ने शक्तिशाली पर्व हो ।

यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई सझियाघाट भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा, कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाइ, उखु, अदुवा, नरिवल, मूला, सुथनीलगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित बर्तालु परिवारसहित नजिकका जलाशयमा जान्छन् र बर्तालुु अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । भोलिपल्ट सप्तमीका दिन बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ । बिहानपखको अघ्र्यलाई भोरूकवाघाट पनि भनिन्छ ।

छठ पर्व मनाउनुको पछाडि वैज्ञानिक तथ्य पनि रहेको छ । वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई विषहरण (डिटोक्सिफीकेशन ) मा टेवा पु¥याउँछ । आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित गर्दछ । साथै कौस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्छ भने यसले निष्क्रिय तन्तुलाई सक्रिय पनि पार्छ । सूर्योदय र सूर्यास्तका बेला मानवले सुरक्षित तवरले सौर्य शक्ति प्राप्त गर्नसक्ने वैज्ञानिक तथ्य रहेको छ ।

छठ पर्वको खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध छ । सांस्कृतिक समन्वय र समाजिक सद्भावको मियोका रूपमा यसका अनेकौँ लोककल्याणकारी पक्ष गाउँघरमा प्रचलित छ । यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो । यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । यसलाई आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति हुन् । त्यसैले छठ मनाउनाले आरोग्य र विशेष गरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ ।

छठ विशुद्धरूपमा प्रकृति र पुरूषको पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गर्छ । अध्येता डा पशुपतिनाथ झाका अनुसार अघ्र्य दिने बेलामा परिवारसँग एकाकार भई प्रार्थना, सूर्यको रक्तिम आभा, लामो लाम, पानीमा प्रार्थनामा जोडिएका पङ्क्तिबद्ध हातको दृश्य मनमोहक हुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -