स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री गुरुङ

सेयर गर्नुहोस

पोखरा, १६ कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि स्थानीय सरकारले उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशनको कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा आज उद्घाटन गर्दै उहाँले उत्पादनका माध्यमबाट रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयताको सफल कार्यान्वयनको लागि स्थानीय सरकार बलियो हुनुपर्ने बताउँदै उहाँले प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक सभा भवन, खेलमैदान, कोल्डस्टोर, उद्योग ग्राम, पार्कलगायतका विभिन्न भौतिक संरचना निर्माणमा बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

सङ्घीय सरकार संविधानले व्यवस्था गरेअनुरुप प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रदान गर्न आलटाल गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आवश्यक कानून र कर्मचारीको अभावले विनियोजित बजेट कार्यान्वयनमा अप्ठेरो परेको धारणा राख्नुभयो ।

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज तथा सङ्घीय सांसद खगराज अधिकारीले संविधानले व्यवस्था गरेको अधिकारलाई पूर्णरुपमा प्रयोग गर्दै जनतालाई सुविधा दिन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दिपक कोइरालाले मुलुकमा देखिएको व्यवस्थापकिय सङ्क्रमण अन्त्यका लागि तीनवटै सरकारको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद श्रेष्ठले जनताले सरकारको अनुभूति गर्न नपाएसम्म मुलुकमा समृद्धि प्राप्त हुन नसक्ने बताउनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा कर्मचारीले जनप्रतिनिधिलाई असहयोग गरे करारमा नयाँ कर्मचारी नियुक्ति गरेर भए पनि जनताका अपेक्षा पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -