स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सबैको ध्यान चितवनमा : प्रचण्ड

Pushpa Kamal Dahal - The Times of Nepal - TON
सेयर गर्नुहोस

चितवन, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताउनुभयो । जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताउनुभयो । आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उहाँले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाउनुभएको पनि बताउनुभयो । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

सो अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।” आफ्नो छोटो मन्तव्यमा पौडेलले देशकै समृद्ध, विकसित र नमूना महानगर भरतपुरलाई बनाउन शुभकामना दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आवका योजनाहरु सार्वजनिक गर्नुभएको थियो । उहाँले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गर्नुभएको थियो । यसैगरी भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरुमा मन्त्रालयका योजनाहरुका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताउनुभयो । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले बोल्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -