स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक

सेयर गर्नुहोस

– शेरबहादुर सिंह

भीमदत्तनगर, ८ असोज (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो ।

पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ । तर विडम्बना, कञ्चनपुरमा महिला तथा बालिकाहरुमाथिको बलात्कार प्रयासका घटनाहरु भने रोकिएका छैनन् ।

निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग सडक र सदन उठिरहे पनि यहाँ आपराधिक गतिविधिमा कमी नआउँदा सुरक्षा चुनौती थपिएको छ ।

गत असार ३२ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कविता विष्टलाई बलात्कारपछि हत्या गरी लालझाँडी जङ्गलमा शव फालिएको अवस्थामा भेटिएयता कञ्चनपुरमा मात्रै झण्डै एक दर्जन बलात्कारका घटनाहरु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्ट हत्यामा संलग्न कष्णपुर नगरपालिकाकै मदन गिरी र भरत बोहरालाई पक्राउ गरी कारबाही अघि बढायो । दुवै अभियुक्त हाल पुर्पक्षका लागि कञ्चनपुर कारागारमा रहेका छन् । विष्ट हत्याको एकसातापछि साउन ६ गते पुनर्वास नगरपालिकाका १७ वर्षीया युवतीलाई सोही नगरपालिकाका २६ वर्षीय विकास बुढाले दोदा नदी छेउको उखुबारीसम्म पु¥याएर बलात्कार प्रयास गरेका थिए । ती युवती कराउँदै उखुबारीबाट भाग्न सफल भइन् । उक्त घटनाका आरोपित बुढा पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।

त्यसैगरी, साउन १० गते शुक्लाफाँटा नगरपालिका–८ का बिन्तरामी चौधरीले स्थानीय वृद्धालाई मध्यरातमा बलात्कार गरे । आफन्तबाटै बलात्कारको शिकार बनेकी वृद्धाले जाहेरी दिएको आधारमा अभियुक्त चौधरी पनि हाल पुर्पक्षका लागि कारागारमा छन् ।

सोही दिन दिउँसो भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथी रोशनी बमको घरमा गृहकार्य गर्न आएकी भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मला पन्त अबेर साँझसम्म घर नफर्किएपछि आमा दुर्गादेवी पन्त छिमेकीसहित निर्मला खोज्न निस्कनुभयो ।

प्रहरीसम्म खोजविनका लागि पुग्नुभएका दुर्गादेवीको पुकार कहीँबाट सुनिएन । साउन ११ गते बिहान निर्मलाको शव उखुबारीमा भेटियो । उल्टाखामवासीले लामो समयदेखि गाउँमा अस्थायी प्रहरी बिट स्थापनाका लागि माग गर्दैआएका थिए । निर्मलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा स्थानीयवासीले अवरोध पु¥याए । गाउँलेले निर्मलाका हत्यारामाथि कारबाहीको माग गर्नाका साथ सुरक्षाको प्रत्याभूत गराउन पनि अपिल गरे ।

चौकी स्थापनाका लागि केन्द्रमा लिखित पत्र पठाउँछु भन्दै प्रहरी पन्छिन खोजेको निर्मलाका आमा दुर्गादेवीको भनाइ छ । “सुरक्षाका लागि पहिले पनि गाउँलेहरुले पहल गर्दै आएका थिए,” उहाँले भन्नुभयो – ‘निर्मलाको घटनामा पनि त्यो स्वर गुञ्जियो तर सुनिएको छैन ।” उक्त घटनालाई सामान्य रुपमा लिइँदा आन्दोलन भड्कियो । भीमदत्तनगरमा दिनहुँ प्रर्दशनहरु भए ।

आन्दोलनले उग्र रुप लिँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परे । निर्मला घटनाका तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकिन्द्र खड्का र तत्कालीन प्रवक्ता एवं प्रहरी नायब उपरीक्षकसहित ६ जना प्रहरी कर्मचारी पनि ढिलो गरी निलम्बनमा परे ।

जिल्लामा नयाँ नेतृत्व आयो । जिल्ला प्रशासनको जिम्मेवारी लिएर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारी लिएर प्रहरी उपरीक्षक कुबेर कडायत कञ्चनपुर आउनुभयो । आन्दोलनले उग्र रुप लिन पुग्दा भीमदत्तनगरपालिका–१८ का सनी खुना शहीद बने ।

गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समिति, प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोलीले भिन्नभिन्न ढङ्गबाट अनुसन्धान गरिरहेका छन् ।

घटनाको अनुसन्धान एवं समन्वयकर्ता भन्दै प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दलाई प्रहरीको केन्द्रीय कार्यालयले कञ्चनपुर पठाएको छ भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा अनुसन्धान अधिकृत भएर अनुसन्धान गरिरहनुभएको छ ।

“धेरै विज्ञसहितको टोलीहरुले अनेक कोणबाट निर्मला हत्या प्रकरणको सघन अनुसन्धान गर्दैछन्,” जिप्रका कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले भन्नुभयो ।

आन्दोलन र अनुसन्धान भइरहँदा पनि बलात्कार

निर्मला प्रकरणले कञ्चनपुर अशान्त भइरहँदा पनि कञ्चनपुरमा बलात्कारका घटनाहरु दोहोरिरहे । निषेधाज्ञा जारी गरिएकै बेला साउन १९ गते भीमदत्तनगरपालिका–१० का ४० वर्षीय लक्ष्मीराम कोलीले पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरे । बालिकामाथि बलात्कारको प्रयास गर्दै गर्दा गाउँलेले थाहा पाएपछि पक्राउ परेका कोली पनि कारबाहीको दायरामा रहेको जिप्रका कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई गाउँकै केही युवकले सामूहिक बलात्कारको प्रयास गरे । गाउँको नहर छेउमा मध्यरात स्थानीयवासी जनक खड्का र भानसिंह विष्टसहितको उक्त समूहले किशोरीलाई जबरजस्ती बलात्कार प्रयास गरेको थियो । उक्त घटनामा खड्का र विष्ट पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् । उनीहरुको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ ।

गत भदौं २६ गते महाकाली नगरपालिकाका–४ का ४० वर्षीय आइते सुनारले सोही नगरपालिकाका १० वर्षीया बालिकालाई धानबारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको प्रहरीको अभिलेख छ । यो घटनामाथि अनुसन्धान भइरहेको छ ।

यहाँको वेदकोट नगरपालिका–१० मा पनि साउन महिनामै ५३ वर्षीय ध्वजराम कामीले झारफुक गर्ने बहानामा ५१ वर्षीया महिलाई बलात्कार प्रयास गरेको थियो । घटना लगत्तै पक्राउ परेका कामी पनि प्रहरी अनुसन्धानमा छन् । जिप्रका कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–७ परासनका ३० वर्षीय नरेश राना पनि बलात्कार आरोपमा पक्राउ परेका छन् । भैंसी चराउन गएकी ३९ वर्षीया महिलालाई उखुबारीमा लगेर रानाले बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ ।

त्यसैगरी, गत भदौको तेस्रो साता बेल्डाँडी गाउँपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पनि ६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको जिप्रकाले जनाएको छ । अभियुक्त विष्टले नाबालकलाई ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको बताइएको छ ।

बलात्कार÷जबरजस्ती करणीका घटनाहरु बढिरहेकै बेला गत बिहीबार कृष्णपुर नगरपालिकामा विद्यालयमै ७ वर्षीया बालिकालाई १० वर्षीय बालकले बलात्कार प्रयास गरे । बालक प्रहरी निगरानीमा रहेको जि प्रका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिनुभएको छ ।

कञ्चनपुरमा गत वर्ष बलात्कार र जबरजस्ती करणीका ३३ मुद्दा प्रहरीमा आएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा जबरजस्ती करणीमा १८ र जबरजस्ती करणी उद्योगमा १५ वटा मुद्दा दर्ता भएका थिए । “पहिले १६ वर्षभन्दामाथि उमेर समूहकालाई बलात्कार गरेका घटनाहरु बढी थिए,” जिप्रका कञ्चनपुर स्रोतले भन्यो– “अहिले किशोरी र बालिकामाथि यसप्रकारका जघन्य अपराधहरु घट्दै गएको देखिन्छ ।”

लागुपदार्थको दुव्र्यसन, कानूनबारेको अनभिज्ञता, अशिक्षा लगायतका कारण महिलामाथिका हिंसाका घटनाहरु बढिरहेको विज्ञहरु बताउँछन् ।

नैतिक शिक्षा आवश्यक

कञ्चनपुरका समाजसेवी लीलाध्वज बस्नेत जिल्लामा बलात्कारलगायत महिलामाथि भइरहेका हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्नुहुन्छ र नैतिक शिक्षाको आवश्यकता औँल्याउनुहुन्छ ।

“नैतिकवान्, आदर्शवान् र सचेत नागरिकका लागि घर र परिवारबाटै नैतिक शिक्षा बालबालिकालाई दिनु आवश्यक छ,” समाजसेवी बस्नेत भन्नुभयो – “राजनीतिज्ञदेखि सबै तह तप्काबाट पनि नैतिक शिक्षाका लागि जोडदार पहल हुन आवश्यक छ ।”

युवा पुस्ता सामाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोगले पनि युवा पुस्ता बिग्रिरहेको उहाँको आकलन छ । “बाल यौनका कुरा मिडियाबाट पनि अनावश्यक रुपमा उछालिँदा गलत सन्देश गइरहेको देख्दैछु,” उहाँले भन्नुभयो ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले अझै गाउँबस्तीमा बलात्कारका घटनाहरु पैसामा मोलमोलाई गरेर मिलाउने गरिएको बताउनुहुन्छ ।

“ग्रामीणस्तरसम्म बलात्कारलगायतका अपराध गरे कानूनी रुपमा यस्तो कारबाही हुन्छ भनेर जनचेतना फैलाउनु प¥यो,” संयोजक भट्टले भन्नुभयो– “चेतनास्तर माथि उकास्ने खालका प्याकेज लागू गर्नुपर्ने देखिन्छ ।” नैतिक शिक्षा दिन स्थानीय तह र प्रदेश सरकारले पनि नयाँ योजनाहरु ल्याउनुपर्ने उहाँको सुझाव छ ।

वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंह बलात्कार, बालविवाह, महिलाविरुद्धका हिंसाका घटनाहरु हुन नदिन अभिभावकको निगरानी धेरै नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -