स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

मौलिकता झल्किने गौरा पर्व

सेयर गर्नुहोस

भीमदत्तनगर, १८ भदौ : हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले यतिबेला प्रदेश नं ७ सुदूरपश्चिमलाई छपक्कै ढाकेको छ ।

सुदूरपश्चिमकै प्रमुख पर्वमा देश–विदेशमा छरिएर रहेका सुदूरपश्चिमेली यतिबेला गौरामा रमाउँदै देउडामा पाइला मिलाउन व्यस्त छन् । गौराको धार्मिकसँगै अर्को महत्वपूर्ण पक्ष हो ‘देउडा’ । डोटेली भाकामा प्रस्तुत हुने देउडाले यतिबेला सुदूरका हरेक उमेर समूहलाई छोएको छ । गौरा पर्व मनाउन रोजगारीका सिलसिलामा भारतलगायत अन्य मुलुक गएका स्थानीयवासी घर फर्किएका छन् ।

गौरा पर्वको पहिलो दिन घर÷घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाउने गर्छन । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरादेवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् ।

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन् । दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका अधिकांश जिल्लका बासिन्दाले दसैँ भन्दा पनि बढी महत्वका साथ मनाउने गौरापर्वको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । भीमदत्तनगरमा गौरा महोत्सवको आयोजना गरिएको छ । यहाँ हरेक दिन साँझ देउडा खेल्न मदनचोकमा भेला हुने गरेका छन् । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थलाई गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृति विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुखदुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैतलो, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । देउडा र धमारी, ढुस्को खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाँडिन्छ । गौरालाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौराका लागि काम विशेषले बाहिर गएका व्यक्ति घर फर्किने गर्दछन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, इष्ट र कूलदेवता प्रसन्न हुने जनविश्वास छ । केही वर्षयता काठमार्डौँमा समेत देउडाको लोकप्रियता बढ्दै गएको छ । बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि गौरा पर्वलाई दशकौंदेखि निरन्तरता दिइएको छ । मानशखण्ड फाउण्डेशनका अध्यक्ष रमेश पन्त (मितबन्दु) गौराको मौलिकतामा ह्रास आउँदै गरेको बताउनुहुन्छ । “गौरामा खेलिने देउडाको चलन घट्दै गएको छ,” उहाँले भन्नुभयो, “गौरा मनाउने विधिप्रक्रिया पनि घट्दै गएको देखिन्छ ।” पन्त पहाडी जिल्लामा सामूहिक रुपमा मनाइने गौरा र तराईवासीले मनाउने गौरामा फरक पाउनुहुन्छ । युवापुस्तालाई गौराप्रति आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -