स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

सेयर गर्नुहोस

इलाम, १७ असार : दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।
कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ ।

दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ । उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यू पनि सेतोट्यामीले संकलन गर्दै आएको छ । “इलाम र अन्य चार वटा जिल्लाबाट छुर्पी संकलन गर्छौं । हामीले उत्पादन गरेको र खरिद गरेर वर्षेनी तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ”, श्रेष्ठले भन्नुभयो ।

सेतोट्यामीले उत्पादन गरेको र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म प्रालि र मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि हुँदै अमेरिकामा हिमालयन डगच्यू नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ ।

श्रेष्ठका अनुसार यसअघि भनेजति डगच्यू निकासी गर्न नसक्दा अमेरिकामै उद्योग खोल्नु परेको थियो । अहिले काठमाडौँमा पनि उद्योग खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

दुई वर्षअघि १०० लिटर दूध संकलन गरेर शुरू गरिएको उद्योग अहिले १० रोपनी जमिन खरिद गरेर आफ्नै भवनमा कारखाना सञ्चालन गर्दै आएको छ । रोङ गाउँपालिकाको शान्तिपुर, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र पशुपतिनगर तथा इलाम नगरपालिकाकै गोदक क्षेत्रमा संकलन भएको चार हजार लिटर दूध यहाँ दैनिक प्रशोधन गरिँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -