स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

सेयर गर्नुहोस

सल्लेरी, सोलुखुम्बु, २४ वैशाख : सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ ।

सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिनुभयो ।

सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताउनुभयोे ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन् ।

मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आरोही हाईअल्टीच्यूट पचाउनको लागि सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुनः आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन् । क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन माउण्टेरिङ गाइडले निर्माण गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको स्रोतले जनाएको छ ।

क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि धमाधम आरोहण गरिन्छ । पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । पर्यटन विभागको तथ्यांकअनुसार चार वटा नेपालीका २० जना आरोहमध्ये १५ जना महिला छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -