स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

सेयर गर्नुहोस

–सञ्चिता घिमिरे
ललितपुर, २१ चैत : इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ ।

१२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नैे तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेपछि उहाँले आफ्ना आमाबुबालाई पनि आफैसंगै राख्नुभएको छ । सडक सुविधा भएको ठाउँ र बजारको नजिक हुँदा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, “यहाँ बजारको कति पनि समस्या छैन ।” उहाँको फार्ममा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी छन् । तामाङ जस्ता शिक्षित युवाको तरकारीखेतीमा आकर्षण बढ्दो छ । विभिन्न विषयमा अध्ययन पूरा गरेका धेरै युवाले अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न छन् । अध्ययनका लागि वा रोजगारीका लागि विदेश गएर आएका धेरैले आधुनिक र व्यावसायिकखेती गरिरहेका छन् ।

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरुलाई रोजगारी समेत दिएका छन् । उनीहरुको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ ।

इजरायललगायतका देशबाट फर्किएका युवामध्ये धेरै अहिले स्वदेशमै तरकारीखेतीमा आवद्ध छन् । केहीले भने यहीँ आधुनिक प्रविधि भित्र्याएर तरकारीको बिक्री गर्न लागेका छन् । काठमाडौँं उपत्यका, असापासका जिल्ला र उपत्यका बाहिर पनि शहरी क्षेत्र नजिकमा अहिले व्यावसायिक तरकारीखेती फैलिँदो छ ।

भर्खरै राजनीतिशास्त्रमा स्नात्तकोत्तर सकेकी दाङकी रिता सुनार पनि तरकारीखेतीबाट आत्मनिर्भर बन्ने र अरुलाई समेत रोजगारी दिने युवा समूहमा पर्नुहुन्छ । उहाँले तीन जनालाई नियमित रोजगारी दिनुभएको छ ।

विदेश जाने प्रक्रियाका लागि काठमाडौँ आएका होस् वा भिसा कुरेर बसेका जिल्लावासी किन नहोस् ती सबै युवा एकपट ‘रिता दिदी’ सम्झदै उनी कहाँ पुग्छन् । त्यस्ता युवालाई उहाँले खाने र बस्ने व्यवस्था मिलाइदिनुहुन्छ ।

यहाँ रहँदासम्म आफ्नो फार्ममा काम गर्न लगाएर जाँदा पारिश्रमिक दिने गर्नुभएको छ उहाँ । पहिले साथीको फार्ममा काम गर्नुभएकी उहाँले उताबाट सिकेर आफूले काम थाल्नुभएको हो । १५ रोपनी जग्गामा झण्डै २१ लाखको लगानीमा उहाँले आफ्नै कृषि फार्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँ भन्नुहुन्छ, “काम शुरु गरेको दुई वर्षमा राम्रो नै भइरहेको छ ।”

तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी गुगलबाट आवश्यक कुरा खोजेर र युट्युबबाट नयाँ ज्ञान सिकेर खेती गर्ने जमात तरकारीखेतीमा बढिरहेको बताउनुहुन्छ । तरकारीखेतीमा युवा पुस्ताको आकर्षणले कृषि आधुनिक बन्दै गएको उहाँले बताउनुभयो ।

नयाँ पुस्ताले आधुनिक र प्रविधियुक्त खेती गरिरहेका छन् । प्रविधिको प्रयोग गर्दा बोटसम्म पानी पाइपबाट नै जान्छ । रासायनिक मल पनि पाइपबाट जान्छ, बोकेर हाल्नु पर्दैन, उहाँ भन्नुहुन्छ, “पहिले सधैँं घाममा वा भिज्दै कडा शारीरिक परिश्रम गर्नुपर्छ भनेर युवा खेतीमा लाग्न चाहँदैनथे तर अहिलेको अवस्था परिवर्तन भएको छ, प्रविधिले खती गर्न सहज बनाएको छ ।”

पहिले खेतबारीमा काम गर्न धुलोमैलो भएर जाने गरेकामा अहिले एप्रोन र चस्मा लगाएर जानेको संख्या बढ्दै छ ।

विदेशबाट फर्किएर तरकारीखेतीमा लागेका युवा धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । नुवाकोटका सोम तामाङ पहिले उहाँको गाउँमा गोलभेँडाखेतीमा लाग्ने एक जना मात्रै युवा हुनुहुन्थ्यो । अहिले सिंगो गाउँमा गोलभेँडाखेती फैलिएको छ । यस वर्ष उहाँको गाउँबाटै मात्रै झण्डै रु ९० लाखको गोलभेँडा बिक्री भएको छ ।

तामाङले विदेशबाट सिकेका कुरा गाउँलेलाई समेत सिकाएर सिंगो गाउँलाई सम्पन्न बनाउनुभएको छ, जोशी भन्नुहुन्छ, “तामाङ जसरी नै विदेशबाट सिकेको सीप र प्रविधि यहाँ प्रयोग गर्ने युवा धेरै जना हुनुहुन्छ ।
परम्परागत खेती गर्नेलाई विस्तारै आधुनिक खेती गर्ने जमातले विस्थापित गर्दै लगेको छ ।

परम्परागत खेती गर्ने पहिले उत्पादन गरेर बजार खोज्छन् । आधुनिक किसान भने बजारको मागअनुसार उत्पादन गर्छन्, जोशी भन्नुहुन्छ, “शिक्षित युवाले यो एक दशकमा कृषिमा साच्चै नपत्याउने गरी परिवर्तन गरिरहेका छन् ।” आगामी वर्षमा तरकारीखेतीमा अझै परिवर्तन हुने उहाँले बताउनुभयो ।

जीविकोपार्जनका लागि विदेश गएका धेरे युवा स्वदेश फर्किएपछि व्यवसायिक किसान बनेका छन् । आधुनिक प्रविधि प्रयोग गर्ने किसानलाई निर्देशनालयले विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -