लैङ्गिक समानताका मुद्दालाई व्यावसायिक बनाउँदा

लैङ्गिक समानताका मुद्दालाई व्यावसायिक बनाउँदा


न्युयोर्क, १४ चैत : लैङ्गिक विभेदले विश्वभर पुनः ध्यान आकर्षण गरेको छ । विरोध यात्रा तथा सामाजिक सञ्जालमा व्यापक बनेको अभियानमार्फत महिलाले जतासुकै यौनजन्य उत्पीडन, दुव्र्यवहार, महिला हत्या तथा असमानता अन्त्य गर्न माग गरिरहेका छन् ।

यसो भए पनि, ह्यासट्यागमीटु तथा ह्यासट्यागटाइम्सअप नामक अभियान सामाजिक चेतना जगाउन जति सफल भएका छन् समानताको सङ्घर्ष अन्त्य हुनबाट त्यति नै पर गएको छ । सन् २०३० सम्म प्राप्त गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घको दिगो विकासका १७ वटा सबै लक्ष्य प्राप्त गर्न महिला तथा बालिकालाई सबल बनाउनु महत्वपूर्ण हुन्छ । यसो भए पनि हाल विश्वव्यापी प्रगतिका लागि लैङ्गिक विभेद एउटा महत्वपूर्ण बाधाको रुपमा रहेको छ र यो कार्यस्थलमा अझै गहन छ ।
स्ट्यान्डर्ड एन्ड पोरका अनुसार प्रमुख ५०० कम्पनीमध्ये आज केबल पाँच प्रतिशतमा मात्र महिलाले नेतृत्व गरेको प्रमुख कार्यकारी अधिकृतमा आफ्नो ध्यान केन्द्रित गर्ने अभिप्रेरक तथा नाफा कमाउने उद्देश्य नभएको संस्था क्याटालिस्टले जनाएको छ् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको एक सर्वेक्षण अनुसार विश्वका ७३ प्रतिशत संस्थाले समान अवसरको नीति अवलम्बन गरेको कुरालाई ध्यान दिँदा यो कमजोर अङ्क अझै बढी उल्लेखनीय हुन्छ । कम्पनीको लैङ्गिक सन्तुलन तथा त्यसको वित्तीय स्वास्थ्यबीच सम्बन्ध भएको अनुसन्धानमा देखिए पनि विश्वका ठूला कम्पनीका सञ्चालक समितिमा २० प्रतिशतभन्दा कम स्थान महिलाले ओगटेका छन् ।

Advertisement

यस्ता कमजोरीलाई सम्बोधन गर्नु आर्थिक तथा नैतिक दुवै तरिकाले अनिवार्य हुन्छ । म्याककिन्सी ग्लोबल इस्टिच्युटले सन् २०१५ मा दिएको प्रतिवेदनमा ‘‘महिला र पुरुषले श्रम बजारमा समान भूमिका खेले भने’’ सन् २०२५ सम्म विश्व अर्थतन्त्रमा २८,००० अर्ब अमेरिकी डलर थपिने देखिएको छ । विश्वव्यापी यी फाइदा प्रत्येक कम्पनीका लागि थप फाइदा हुनेछ । अधिक लैङ्गिक समानता भएका संस्थामा बढी नयाँ खोज, उदारता तथा फाइदा भएको देखिन्छ । तर महिला सशक्तीकरणको वर्तमान दरका आधारमा यो लैङ्गिक रिक्तपना अन्त्य गर्न करिब २२० वर्ष लाग्छ । यसलाई विश्वले यति धेरै कुर्न सक्दैन, हामीलाई नयाँ विधि चाहिन्छ ।

कम्पनीलाई महिला कर्मचारी नियुक्त गर्न, स्थायी बनाउन र बढुवा गर्न बाटो तयार गर्न सहयोग गर्न हामीले ४०० वटा विश्वव्यापी व्यापारिक संस्थाका नेता तथा सरकारका प्रतिनिधिहरूको सहभागितामा चिलिको स्यान्टियागोमा भेला गर्ने योजना बनायौँ । उक्त भेला चिलीको सरकार तथा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले आइएलओ तथा ‘युएन ओमन’ को साझेदारीमा आयोजना गरेका थिए र त्यहाँ निजी क्षेत्रमा लैङ्गिक समानताको महत्वलाई उजागर गर्ने लक्ष्य राखिएको थियो ।

उक्त भेलामा तलबमा भिन्नता हटाउने, निर्णयक स्थानमा महिलाको सङ्ख्या वृद्धि गर्ने तथा काममा यौनजन्य उत्पीडन अन्त्य गर्न काम गर्ने कम्पनीलाई प्रमाणित गर्ने मौलिक प्रयासको रुपमा युएनडीपीको सहयोगमा ‘‘लैङ्गिक समानता छाप कार्यक्रम’’ सञ्चालन गर्ने विषय समाधानको रुपमा प्रस्तुत भएको थियो ।

आज, युएनडीपीले प्रमाणित गरेका कम्पनीहरूले बढी सन्तुलित विश्वव्यापी श्रमशक्ति तयार गर्न नेतृत्व दिएका छन् । उदाहरणका रुपमा चिलीको सरकारको स्वामित्वमा रहेको तामा खानी कम्पनी कोडेल्कोले आफ्ना पदहरूमा महिला कर्मचारी बढाइरहेको छ र त्यसले यस प्रक्रियामा उत्पादकत्व बढाएको छ । यसैगरि कोस्टारिकाको बाङ्को नेसियोनालले दर्जनौँ महिलालाई व्यवस्थापकीय भूमिकामा बढुवा गरेको छ, यो बैंक हाल महिला उद्यमीलाई वित्त उपलब्ध गराउने प्रमुख क्षेत्रीय संस्था बनेको छ । क्यानडामा स्कटियाब्याङ्कले महिला संरक्षण कार्यक्रम उपयोग गरी सबैभन्दा बढी लैङ्गिक सन्तुलित कम्पनी बनेको छ । उक्त भेलामा आफ्नो चाहना व्यक्त गरी बढी संस्थाले महिला समानताको प्रमाणपत्र लिन प्रयास गर्नेछन् भन्ने हाम्रो आशा थियो ।

उक्त भेलामा छलफलका लागि राखिएको अर्को विषय महिला समानताका लागि व्यवसायिक मुद्दालाई मूर्तरुप दिन ‘युएन ओमन’ तथा युएन ग्लोबल कम्प्याक्टले विकास गरेको सञ्चालन निर्देशिका पनि थियो । यस सिद्धान्तलाई एक हजार सात सय प्रमुख कार्यकारी अधिकारीहरूले समर्थन गरेका छन् भने व्यवस्थापकलाई कार्यक्षेत्रमा लैङ्गिक रिक्तपना विश्लेषण गर्न सघाउन यस प्रयासको औजारलाई ६१ मुलुकका करिब ३०० कम्पनीले प्रयोग गरेका छन् ।

निश्चय पनि विश्वव्यापी बैठक, प्रमाणीकरण प्रणाली तथा निःशुल्क सफट्वेयर समाधानका भाग मात्रै हुन् । महिलाले अझै पनि घरमा असमान बोझ बोकेका छन् र सामाजिक तथा सांस्कृतिक मान्यताको दबाब भोगेका छन् जसले उनीहरूलाई विद्यालय जान, व्यवसाय आरम्भ गर्न र सार्वजनिक जीवनमा भाग लिने अवसरबाट वञ्चित गर्छन् । त्यो भन्दा पनि घरबाहिर पारिश्रमिक पाउने नोकरी पाउने महिलाले पनि औसतमा २३ प्रतिशत लैङ्गिक वेतन भिन्नता भोग्ने स्थानमा बस्नुपरेको छ । यसले समानता अवसरको कुरा मात्रै होइन भन्ने देखाउँछ ।

व्यवसाय, समुदाय तथा परिवारले समान कार्यक्षेत्र बनाउन काम गर्नैपर्छ । भाग्यको रुपमा केही पनि नगर्नुको व्यवसाय तथा समग्र अर्थतन्त्रले व्यहोर्नुपर्ने ठूलो लागत हुन्छ र त्यसैले काममा लैङ्गिक विभेद अन्त्य हुने कुरामा हामी आशावादी छौँ । जब कम्पनीले आफ्नो व्यापारिक रणनीति र वृद्धिमा महिला सशक्तीकरणलाई केन्द्रमा राख्छ तब समानताले कसैलाई पनि पछाडि नपारी सबैलाई बलियो बनाउँछ ।

(एकम स्टाइनर संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका प्रशासक हुनुहुन्छ भने फमजिले म्लाम्बो एङकुका युएन विमनका कार्यकारी निर्देशक हुनुहुन्छ । अनुवाद : सुरेन्द्रबहादुर नेपाली) (रासस÷प्रोजेक्ट सिन्डिकेट)

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?