स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

सेयर गर्नुहोस

काठमाडौँ, ४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा आएका भारतीय उद्योग परिसंघको टोलीले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री ओलीसँग महासंघका अध्यक्ष भवानी राणा र परिसंघका अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको मार्गमा अगाडि बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सिआइआईका अध्यक्षलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको समृद्धि नै आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोधसमेत गर्नुभयो ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै महासंघले भनेको छ, “नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस्, कस्तो सहयोग गर्नुपर्छ मलाई भन्नुहोस्, सरकार सहयोग गर्न तयार छ ।”

सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौँमा नेपाल–भारत लगानी सम्मेलनको गृहकार्य भइरहेको जानकारी गराउँदै नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

भेटवार्ताका अवसरमा सिआइआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्रीलाई भारतीय निजी क्षेत्रका तर्फबाट बधाई दिनुका साथै नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्रपनि उत्साहित रहेको भन्दै संयुक्त लगानी विस्तार, लगानीका क्षेत्र पहिचानलगायतमा आगामी दिनमा ठोस गृहकार्यसहित अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -