स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सुपथ मुल्यको पसलले सर्वसाधारणलाई राहत

सेयर गर्नुहोस

रत्ननगर (चितवन) २२ भदौ । सरकारले नारायणगढमा सञ्चालन गरेको सुपथ मुल्यको पसलबाट स्थानीय विष्णुकुमार श्रेष्ठले नुन र चिनी किन्नुभयो । किनेको सामानको पोको मोटरसाइकलमा बाँधेर स्टाट गर्न लाग्दा उहाँ भेटिनुभयो ।

एउटा जिज्ञासामा श्रेष्ठले मोटरसाइकलबाटै जवाफ दिँदै भन्नुभयो, “सस्तो त सस्तै रैछ, बाहिर महंगो लिन्छ, बजार हेरेर त चिनी धेरै सस्तो हो ।”

बाहिर प्रतिकिलो रु ९० सम्म पाइने गरेको चिनी सुपथ पसलमा रु ७७ मा लिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । “बजारमा मात्रै नभई गाउँगाउँमा यस्ता सुपथ मुल्यको पसल सञ्चालन गर्न सके राम्रो हुन्थ्यो,” श्रेष्ठले भन्नुभयो – “यस्ता पसल बाह्र्रै महिना सञ्चालन हुनुपर्दछ ।”

यस्तै भरतपुर देवघाटकी उर्मिला धिताल स्कुल पोशाकमै नुन र चिनी किन्न आउनुभयो । सस्तोमा पाइन्छ भन्ने जानकारी पाएपछि स्कुल पढेर घर जाने बेलामा सुपथ पसलबाट सामान किनेर उहाँले जानुभयो ।

सरकारले चाडपर्वका वेला उपभोक्तालाई सस्तो र सहजरुपमा अत्यावश्यक सामाग्री उपलब्ध गराउन सुपथ मुल्यको पसल सञ्चालन गर्ने निर्णयसँगै भदौ १६ देखि यहाँ पसल सञ्चालन गराइएको थियो ।

“विस्तारै उपभोक्ताहरू बढ्न थालका छन्, कर्मचारी सरस्वती थापाले भन्नुभयो, “अहिले बिक्री दैनिक रु डेढ लाख पुग्न थालेको छ ।” शुरुको पहिलो दिनमा दिनमा रु २४ हजार र दोस्रो दिनमा रु ५० हजार बिक्री भएको यहाँ अहिले रु डेढ लाखको सामान बिक्री हुन थालेको छ । दशैं नजिकिएपछि यो बिक्री ह्वात्तै बढ्ने अर्का कर्मचारी विकास अधिकारीले बताउनुभयो ।

कार्यालयले दिएको जानकारी अनुसार बुधबारसम्म यहाँ सञ्चालित सुपथ मुल्यको पसलबाट रु पाँच लाखको सामान बिक्री भएको छ ।

चितवनमा यो सुपथ पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन गरिने जनाइएको छ । यसपाली बजार मूल्यभन्दा अलि सस्तो परेकाले सुपथ मुल्यको पसलमा चिनी र नुन धेरै बिक्री हुने अनुमान छ ।

सुपथ मूल्यको पसलमा चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नुन प्रतिकिलो रु १८ छ । बाहिर बजारमा भने कम्तीमा चिनीे रु ८५ र नुन रु २० मा प्रतिकिलो बिक्री हुने गरेको छ । यस्तै चियापत्ती प्रतिकिलो ३३०, पिडो प्रतिकिलो ३६, खाने तेल प्रतिलिटर रु २२५ बिक्री गर्ने गरिएको छ ।

चितवनमा एउटा मात्रै पसल सञ्चालन भएकाले गाउँमा पनि पसल सञ्चालन गर्नुपर्ने चितवन कालिका नगरपालिका–८ का स्थानीय भरत ढुंगाना बताउनुहुन्छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -