स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

बगनासकालीको पहिचान ‘बगनासी साँचो’ संकटमा

सेयर गर्नुहोस

पाल्पा, १४ भदौ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–९, बगनासका विश्वकर्मा समुदायद्वारा उत्पादित ‘बगनासी साँचो’ लोप हुने अवस्थामा रहेको छ ।

भारतीय र चिनियाँले मेसिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा पठाएपछि स्थानीयस्तरमा उत्पादन गरिएका साँचो लोप हुने अवस्थामा पुगेको हो । स्थानीय साँचोको मूल्य महँगो हुने र अन्य मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवापुस्ता साँचो बनाउन आकर्षित नभएपछि यो साँचो विस्तारै हराउन थालेको छ ।

साँचो बिग्रिएपनि पुनः प्रयोगमा ल्याउन सकिने र चाबी हराए पनि फेरि बनाउन सकिने हुनाले अन्यकोे तुलनामा यो बलियो रहेको छ । नेपाली बजारमा भारतीय र चिनियाँले साँचो पठाउनुभन्दा अघि बगनासी साँचो अधिक मात्रामा प्रयोगमा आएको थियो । राणाकालीन समयदेखि पाल्पाको बगनासमा उत्पादन गरिएको साँचो प्रयोगमा आएको स्थानीय बताउँछन् ।

बगनासकाली गाउँपालिका–९, बगनासका ६९ वर्षीय टेकबहादुर विश्वकर्माले पहिले गाउँमा सातजना बगनासी फलामको साँचो बनाउने रहेपनि अहिले भने गाउँमा आफूमात्र रहेको बताउनुभयो । “बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिस आउँछन् । तर, नयाँ साँचोको माग पहिलाको तुलनामा शून्य जस्तो रहेको छ ।”

साँचो बनाउन माग आए अझै पनि आफूले बनाउने, तर साँचो बनाउन मानिस आउँदैनन्, अहिले एउटा साँचोको रु ५०० मात्र लिने विश्वकर्माले बताउनुभयो । दैनिक दुईवटा साँचो निर्माण गरिन्छ ।

साँचोको माथिल्लो भागमा डण्डी रहेको, जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने रहेको छ । डण्डीलाई प्वालभित्र राखेर साँचोमा चाबीले खोल्न र बन्द गर्न सकिने विश्वकर्माको भनाइ छ ।

पहिले पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, प्युठानलगायतका जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएकोमा अहिले बजार पनि नभएको र उत्पादन हुन समेत छाडेको छ ।

पाल्पाको बगनासमा उत्पादित साँचो जिल्ला तथा देशभर नै यसको महत्व रहेपनि संरक्षणमा चासो नदेखाइएकोमा साँचो निर्माता चिन्तित छन् । परम्परादेखि साँचो निर्माण गर्ने अधिकांशको मृत्यु भए पनि टेकबहादुर विश्वकर्माले साँचोको संरक्षण गर्नका लागि गाउँपालिकाले चासो देखाउनुपर्ने माग गरेका छन् ।

बगनासकाली गाउँपालिकाभित्रका सरकारी कार्यालयमा बगनासी साँचो प्रयोगमा ल्याउन सकेको अवस्थामा यो साँचोको पहिचान गाउँपालिकामा रहिरहने स्थानीय बासिन्दा बताउँछन् । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -