स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

टिम्बर कर्पाेरेशनले काठको सिजनिङ तथा प्रशोधन प्लान्ट सञ्चालनमा ल्याउने

सेयर गर्नुहोस

चितवन, ९ साउन । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडले भरतपुरमा काठको सिजनिङ तथा प्रशोधन प्लान्ट निर्माणका लागि आज भवन शिलान्यास गरेको छ ।

कर्पाेरेशनका महाप्रबन्धक राजु लौडारीले शिलान्यास गर्नुभएको भवन दुई करोड रु ५० लाखको लागतमा प्लान्ट निर्माण गर्न लागिएको हो । तीन महिनाभित्र भवन निर्माण गरी प्लान्ट जडान गरिसक्ने उहाँले बताउनुभयो । प्लान्टका लागि आवश्यक पर्ने उपकरण नेपालमा भित्रिइसकेको छ ।

महाप्रबन्धक लौडारीका अनुसार नरम र कुकाठलाई सिजनिङ र प्रशोधन गरी लामो समयसम्म टिकाउ र बलियो बनाइने छ । सिजनिङले काठको पानीको मात्रालाई घटाउने काम गर्छ भने प्रशोधनले कुनै पनि रोग लाग्न नदिने गरी रसायन प्रयोग गरेर काठलाई बलियो बनाउने काम गर्छ ।

सो अवसरमा लौडारीले प्लान्ट देशको मध्यभागमा रहेकाले देशका जुनसुकै ठाउँबाट पनि काठ ल्याउन मिल्ने भएकाले चितवनमा प्लान्ट जडान गर्न लागिएको बताउनुभयो । नेपालमै ठूलो परिमाणमा काठ सिजनिङ गर्ने यो पहिलो प्लान्ट हो । लौडारीका अनुसार यो प्लान्टले एक वर्षमा एक लाख २० हजार क्यूविक फिट काठ सिजनिङ र प्रशोधन गर्न सक्छ ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार काठलाई सिजनिङ र प्रशोधन गरेपछि १० गुणासम्म बलियो र टिकाउ हुन्छ । नेपालको पहाडी क्षेत्रमा रहेका सल्लो, उत्तिस, चिलाउने, तराईका सिसौ, साज, कर्मा, बकाइनाजस्ता काठ सिजनिङ गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालमा वर्षेनी रु तीन अर्बभन्दा बढीको काठ आयात हुने गरेकामा अब काठलाई सिजनिङ र प्रशोधन गर्न सके निर्यात गर्न सकिने सम्भावना रहेको छ ।

विश्वका जुनसुकै देशमा पनि आफ्नै उत्पादन कमजोर काठलाई सिजनिङ र प्रशोधन गरेर आवश्यकता पूर्ति गर्ने गरेको पाइन्छ । सिजनिङ र प्रशोधन गरेपछि सबै काठ सालको काठसरह बलियो हुने र पसांगिदैन ।

नेपालमा मागको २५ प्रतिशत हाराहारीमात्रै सरकारी तवरबाट काठ आपूर्ति हुने गरेको छ ।

द टिम्बर कर्पाेरेशनले गत आवमा चार लाख क्वूविक फिट काठ बिक्री गरेको जनाएको छ । महाप्रबन्धक लौडारीले चालू आवमा सात लाख क्यूविक फिट काठ बिक्री गर्ने लक्ष्य रहेको बताउनुभयो । सिजनिङ र प्रशोधन हुन थालेपछि निजी वनसँग समेत समन्वय गरेर काठ खरिद गरिने जानकारी उहाँले दिनुभयो ।

हाल टिम्बर कर्पाेरेशनले राष्ट्रिय वनबाट मात्रै काठ लिने गरेको छ । काठमाडौँसहित देशका ११ वटा डिपोबाट कर्पाेरेशनले काठ बिक्री गर्दै आएको छ ।

टिम्बर कर्पाेरेशन भरतपुरका प्रमुख प्रदीपकुमार निरौलाले काठको माग अत्यधिक भएको भन्दै प्लान्ट राखेपछि केही हदसम्म यस क्षेत्रका जनतालाई बढी काठ दिन सकिने बताउनुभयो । यो कार्यालयले गत आवमा २६ हजार क्यूविक फिट गोलाई किनेर १५ हजार क्यूविक फिट काठ बिक्री गरेको जनाएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -