स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सुपा देउरालीमा पर्यटकको वृद्धि

सेयर गर्नुहोस

सन्धिखर्क, ८ वैशाख । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

विगत वर्षमा दैनिक दुई सयदेखि एक हजारको सङ्ख्यामा दर्शनार्थी आउने गरेका थिए । अहिले दैनिक एक हजारदेखि दुई हजार दर्शनार्थी आउने गरेका मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिनुुभयो ।

नयाँ वर्षमा वैशाख एक गते करिब १२ हजार जनाभन्दा बढी व्यक्ति दर्शन गर्न आएका उहाँले बताउनुभयो । उक्त दिन मन्दिरमा रु एक लाख नौ हजार आठ सय भेटी चढेको थापाको भनाइ छ । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा अहिले भेटिबाट उठेको रकमबाट विभिन्न विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाएको भेटिबाट आदर्श मावि खाँचीकोटमा ६ जना तथा शान्ति निमावि सितापुरमा चारजना शिक्षकलाई पारिश्रमिक उपलब्ध गराइँदै आएको अध्यक्ष थापाले बताउनुभयो । भेटिबाट सङ्कलित रकममध्ये विद्यालयलाई रु एक लाख २० हजार उपलब्ध गराइएको छ ।

यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमकालागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो । “अन्य विकास निर्माणका काममा पनि सहयोग गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

उक्त मन्दिरमा अघिल्लो वर्ष रु ६० लाख आम्दानी भएको थियो । यस वर्ष आम्दानी बढेर रु ८० लाख पुग्ने सचिव यादवको भनाइ छ । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट बढी मात्रामा दर्शनार्थी आउने गरेका छन् । भारतको उत्तर प्रदेश र बिहारबाट समेत दर्शनार्थी सुपा देउराली आउने गरेका छन् ।

सुपा देउरालीको मन्दिरसम्म केवुलकार र पद्मार्ग निर्माण गर्न सके यहाँ पर्यटकीइ गतिविधि बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री बताउनुहुन्छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेको छ । यहाँबाट मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यहाँ गर्मीयाममा तराईबाट गर्मी छल्न सर्वसधारण आउने गर्छन् । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -